आज रमिता छ !! इन्द्र बहादुर राइ


काठमाडौ, चैत्र १३ – अघि आँखाले दुःख नदिँदा इन्द्रबहादुर राई पढेर-लेखेर धेरै समय बिताउँथे । अचेल त्यो सब बन्द । उनको दायाँ आँखाबाट सधैं एकनासले आँसु बगिरहन्छ । कहिलेकाहीं ड्याम्म ढाक्छ अघिल्तिरका दृश्य । जसरी भुईं कुहिरोले ढाक्छ तराईका फाँटहरू । अहिले उनलाई कसैले बढी नै सताइरहेको छ भने त्यो आँखा हो । ‘समस्या बिस्तारै बढ्दै थियो,’ नेपाली साहित्यका हस्तीलाई यतिबेला लाग्यो, ‘बेलैमा याद गरिएन । अहिले धेरै दुःख पाइरहेको छु ।’

आँखाकै कारण उनी बोलाइएका कति साहित्य सम्मेलनहरूमा जान असमर्थ छन् । ‘नजिकै हो र सजिलै आउन जान सकिने हो भने पुगी पनि हाल्छु’, उनले बाध्यता सुनाए, ‘तर, त्यहाँ गएर ४ घन्टा बस्नुपर्ने हो भनेचाहिँ आउँदिनँ नै भन्दिन्छु । नेपालबाट पनि प्रशस्तै बोलावट हुन्छ । टाढा छ, जाने आँटै हराइसक्यो ।’

हिउँदे चिसो छल्न बर्सेनि इन्द्रबहादुर श्रीमतीसहित सिलगढी नजिकको सुकुना र्झछन् । सुकुनाको मेथीबारीमा एउटा सानो घर छ । गर्मी चढ्न थालेपछि पहाड अर्थात् दार्जिलिङ उक्लन्छन् । पहाड उक्लने र मधेस झर्ने क्रम चलेको वर्षौं बितिसक्यो । ‘चिसोमा दार्जिलिङमा बस्नै सक्दैनौं,’ उनले बुढ्यौली बाध्यता सुनाए, ‘गर्मी चढेपछि सिलगढीमा सकिदैन ।’

मधेसतिर गर्मीको राप बढ्दै गर्दा यिनको पहाड उक्लने समय सुरु हुन्छ । तर, अहिले आँखा उपचारका लागि थप १५ दिन सुकुनामै बिताउनुपर्ने बाध्यता छ । ‘आँखा उपचारमा नेपालको ख्याति सुनेको छु,’ इन्द्रबहादुरले भने, ‘नेपालमा उपचार गर्न मन हुँदाहुँदै मेरा लागि सहज छैन ।’ आँखाका कारण लेख-पढ गर्न नसक्दा घरअगाडिका फूलहरूमा पानी हालेर यिनले दैनिकी टुंग्याउँछन् । ‘हामीले जानेकै के छौं र ?’ निराशा भावमा उनी भन्छन्, ‘पढ्न, लेख्न र फूलहरूमा पानी हाल्न त हो । अरू के नै पो जानेका छौं र ?’

…..

नेपाली साहित्यमा समय-समयमा विभिन्न खाले आयामहरू देखिए । दार्जिलिङ भारतबाट सुरु तेस्रो आयाम र लीलालेखनजस्ता आयामहरूका कमान्डर यिनै इन्द्रबहादुर हुन् ।

सन् १९६३ ताका समालोचक गणेशबहादुर प्रसाईंले दार्जिलिङमा भेट गराइदिएका थिए- बैरागी काइँला, इन्द्रबहादुर राई र ईश्वरवल्लभको । यी तीन हस्तीबीचको भेटबाटै तेस्रो आयाम जन्मियो । २० को दशकमा यसले नेपाली साहित्यमा एउटा ठूलो आन्दोलनको रूप लियो । तेस्रो आयामको उद्देश्य लेखाइमा लम्बाइ, चौडाइ, मोटाइ र गहनता हुनुपर्छ भन्ने थियो । बैरागी काइँलाको सम्पादकत्वमा ‘तेस्रो आयाम’ पत्रिकै निस्कियो । काइँलाको चर्चित कविता ‘मध्यरातपछिको सडकसित मातेको मान्छेको भाषण’ तेस्रो आयाम शैलीबाट लेखिएको थियो ।

तेस्रो आयाम चर्चामै थियो । इन्द्रबहादुरले यसलाई आधा बाटोमै छाडे । अनि अर्को आयामतिर लागे । जसको नाम थियो- लीलालेखन । कतिपयले इन्द्रबहादुरकै कारण तेस्रो आयाम धरापमा परेको आरोप पनि लगाउने गरेका छन् । उनले बीचैमा छाड्दिनाले तेस्रो आयाम हुर्कन पाएन । यिनको यो साहित्यिक अभियानलाई कृष्ण धरावासी, रत्नमणि नेपाल, कृष्ण बराललगायतको साथ छ । लीलालेखनले नेपाली साहित्यमा लेख्नका लागि नयाँ विषयवस्तु दिन सकेको छ जस्तो लाग्छ इन्द्र्रबहादुरलाई ।

नेपाली साहित्यका ‘बाघ’ लाई आफ्नो जीवन पछाडि फर्किएर हेर्दा यतिबेला आफ्नै उपन्यासजस्तो लाग्छ- ‘आज रमिता छ ।’ ‘फर्किएर हेर्दा त्यो सम्झना मात्रै फर्केर हेरेजस्तो हुन्छ,’ उनी नोस्टाल्जिक बन्छन् । ‘वास्तवमा सम्झनाले झुक्याउँदो रहेछ । जब सम्झना गरेर आफ्नो विगतलाई हेर्छौं, साँचो रूपमा जस्तो थियो यथावत् त्यो विगत सम्झन सक्दैनौं । बाबुआमालाई सम्झँदै पनि । बाबुआमाले साह्रै माया पनि उस्तै सम्झिदैनौं । बाबुआमासँग बाँच्दा हुँदा डर ज्यादा, अहिले माया ज्यादा,’ उनलाई लाग्छ, ‘यसरी सम्झनाले पनि झुक्याउँदो रहेछ ।’

१९८४ माघ १७ मा दार्जिलिङको बालासन खोलाको बगरमा जन्मिएका इन्द्रबहादुर अंग्रेजी साहित्यमा डिग्री गरेपछि प्राध्यापनमा लागे । त्यही बखत सन् १९६१ मा उनको पहिलो कृति ‘विपना कतिपय’ प्रकाशित भयो । सन् १९५८ मै लेखिसिध्याएको उपन्यास ‘आज रमिता छ’ १९६४ मा मात्रै प्रकाशित भयो ।

‘सन् १९५० ताका भारतबाट अंग्रेज साम्राज्यवादीले बिदा लिएको समय । त्यसबेला उनीहरू गए, अब छैनन् भन्ने सोचियो । तर, तिनीहरूको ठाउँमा ‘देशी साम्राज्यवादी’ ले किला गाडिसकेको थियो । विदेशी गए, तर देशीले त्यो ठाउँ लिएर बसे । हाम्रो संघर्ष त रह्यो नै,’ इन्द्रबहादुरले थपे, ‘त्यही संघर्षको कथा आज रमिता छ बन्यो ।’

उत्तर उपनिवेशवादी नेपाली साहित्य अध्ययन गर्नुपर्‍यो भने सबभन्दा पहिले पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’ पढ्नुपर्ने लाग्छ यिनलाई । त्यसमा एउटा वाक्य थियो- ‘दक्षिणको मित्र -त्यसबेला बि्रटिस) सँग गाहा अर्थात् मित्रता त राख्नुपर्छ तर त्यो महाचतुर छ ।’ यिनलाई लाग्छ, यहींबाट सुरु हुनुपर्छ उत्तर उपनिवेशवादी साहित्य लेखन ।

नेपालको राजनीतिप्रति खास टिप्पणी गर्ने मन छैन यिनलाई । ‘उता -नेपाल) को राजनीतिमाथि अलिकति बोल्न हामी डरले काप्नैपर्छ,’ इन्द्रबहादुरले भने, ‘राम्ररी नबुझेको कुरामा मुख खोल्नु अलि हच्कन्छौं हामी, हच्कनु पनि पर्छ ।’

उनको मनमा एउटा प्रश्न छ- भारतमा प्रकाशित अंग्रेजी, हिन्दी जुनै भाषाका पत्रपत्रिका पुस्तक खुला रूपले नेपालमा पुग्छन् । बिक्री वितरण हुन्छन्, पढिन्छन् । तर, भारतमा नेपालका पत्रिकाहरू पुग्दैनन् । किन हो ? नेपालमा प्रकाशित नेपाली भाषाका पत्रपत्रिका भारतमा रोकावट ? सन् १९५० सालमा भारत र नेपालीबीच मैत्री सन्धि भएको छ । यसले ‘रेसिप्रोकल बेनिफिट’ अर्थात् जति सुविधा भारतले पाउँछ नेपालमा, नेपालका प्रकाशनहरूले भारतमा उत्ति नै सुविधा पाउनुपर्छ भनी लेखिएको छ । तर खै त ?

नेपाल गएका बखत इन्द्रबहादुरले प्रज्ञा प्रतिष्ठान यो कुरा भने । ‘मदन पुरस्कार गुठीसँग पनि कुरा उठाइयो बोल्नोस् न तपाईंहरू । त्रिभुवन विश्वविद्यालयसँग पनि कुरा राखियो भएन । दिल्लीस्थित नेपाली दूतावासका अधिकारीसँग पनि धेरैपटक कुरा भयो । तर, खुलेको छैन बाटो । पढ्नै पाउँदैनौं नेपालबारे । केही जान्दैनौं । बुझेको पढेको भए पो जान्नु,’ अन्त्यमा उनी हैरानीको मूडमा देखिए ।

प्रकाशित मिति: २०७१ चैत्र १३ ०१:२२ ekantipur.com

 

Leave a comment